बैतडी : मुलुकको सुदूरपश्चिम क्षेत्रमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना हुनु शैक्षिक संरचना थपिनु मात्र होइन, नेपालको स्वास्थ्य प्रणालीलाई रूपान्तरण गर्ने बलियो ऐतिहासिक आधार पनि हो । वर्ल्ड फेडेरेशन फर मेडिकल एजुकेशन (२०१२) र वर्ल्ड हेल्थ अर्गनाइजेशन (२०१०) का अध्ययनले देखाएअनुसार चिकित्सा शिक्षाको अन्तिम उद्देश्य नागरिकको स्वास्थ्य स्तरमा सुधार ल्याउनु हो ।
यस अर्थमा विश्वविद्यालयको सफलता जनशक्ति उत्पादनमा मात्र सीमित नरही समुदायस्तरमा स्वास्थ्य सुधार, सेवाको पहुँच विस्तार र जनविश्वास अभिवृद्धिमा आधारित हुनुपर्छ । भौगोलिक जटिलता र सामाजिक असमानताका कारण सुदूरपश्चिम लामो समयदेखि पछाडि परेको क्षेत्र मानिँदै आएको भए पनि अब विश्वविद्यालय स्थापनासँगै स्वास्थ्य शिक्षा र सेवाको नमूना केन्द्र बन्ने सम्भावना बढेको छ ।
सुदूरपश्चिमको भौगोलिक यथार्थ
सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुला गरी नौ जिल्ला पर्दछन् । तराईदेखि उच्च हिमाली भू–भागसम्म फैलिएको भौगोलिक संरचनाका कारण यहाँ स्वास्थ्य सेवाको पहुँच चुनौतीपूर्ण छ ।
मानव विकास सूचकाङ्कका आधारमा अछाम, बाजुरा, बझाङ, डोटी र दार्चुला अझै पनि पछाडि रहेका जिल्ला हुन्, जहाँ स्वास्थ्य, शिक्षा र पूर्वाधारको अवस्था कमजोर छ । अर्कोतर्फ कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला भारतसँग सीमा जोडिएका जिल्ला भएकाले आपतकालीन स्वास्थ्य सेवा र आवागमनका दृष्टिले रणनीतिक महत्व राख्छन् ।
संस्थागत तयारी र कार्यदिशा
विश्वविद्यालयको ऐनअनुसार यसको व्यवस्थापकीय संरचना निर्माण भइसकेको छ । आन्तरिक तथा बाह्य सहकार्य र परामर्शमार्फत शैक्षिक तथा स्वास्थ्य सेवा सञ्चालनको तयारी तीव्र पारिएको छ ।
अब पाठ्यक्रम निर्माण गर्दा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप र समुदायको आवश्यकतालाई समेट्ने दिशामा ध्यान दिनुपर्ने देखिन्छ ।
समुदायकेन्द्रित शैक्षिक दृष्टिकोण
शिक्षण प्रणाली परम्परागत कक्षाकोठामै सीमित नरही समुदायमा आधारित, समस्यामा आधारित तथा अन्तरविषयगत हुनुपर्छ । चिकित्सा शिक्षा, सामाजिक विज्ञान, जनस्वास्थ्य र मेडिकल ह्युमानिटीको समन्वयले मात्र दक्ष र संवेदनशील चिकित्सक उत्पादन सम्भव हुन्छ ।
स्थानीय स्वास्थ्य समस्यामा केन्द्रित पाठ्यक्रम
मातृ तथा शिशु स्वास्थ्य, कुपोषण, सरुवा रोग, मानसिक स्वास्थ्य र सिकलसेल एनिमिया यस क्षेत्रका प्रमुख चुनौती हुन् । विशेषगरी थारु समुदायमा देखिने सिकलसेल एनिमियाको अध्ययन, परीक्षण र उपचारलाई प्राथमिकतामा राख्न आवश्यक छ ।
यसका साथै प्रदेशभरका अस्पताललाई ‘स्याटेलाइट’ नेटवर्कमा जोडेर विद्यार्थीलाई अन्तिम वर्षमा कम्तीमा ६ महिना अनिवार्य रूपमा व्यावहारिक अभ्यास गराउने व्यवस्था प्रभावकारी हुन सक्छ ।
ग्रामीण स्वास्थ्य जनशक्ति विकास
विश्व स्वास्थ्य संगठनका अनुसार राजधानीबाहिर अध्ययन गरेका स्वास्थ्य जनशक्ति ग्रामीण क्षेत्रमा सेवा दिन इच्छुक हुन्छन् । त्यसैले सुदूरपश्चिममा चिकित्सा विश्वविद्यालय स्थापना हुनु ग्रामीण स्वास्थ्य सुधारका लागि महत्वपूर्ण कदम हो ।
चिकित्सा शिक्षा आयोगमार्फत सञ्चालन हुँदै आएको एकीकृत प्रवेश परीक्षा र केन्द्रीकृत भर्ना प्रणालीले पारदर्शिता र प्रतिस्पर्धात्मकता बढाएको छ, जसले गुणस्तरीय शिक्षामा ध्यान केन्द्रित गर्न सहयोग पुर्याउँछ ।
डिजिटल स्वास्थ्य प्रणाली : नवप्रवर्तनको आधार
भौगोलिक रूपमा विकट सुदूरपश्चिममा डिजिटल स्वास्थ्य प्रणाली अत्यन्त आवश्यक छ । टेलिमेडिसिन, इलेक्ट्रोनिक स्वास्थ्य अभिलेख र मोबाइल स्वास्थ्य सेवाले दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउन सहयोग गर्छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले समुदायमा आधारित डिजिटल स्वास्थ्य प्रणाली कार्यान्वयन गरी उदाहरण प्रस्तुत गरिसकेको छ । यस मोडललाई अपनाउँदै सुदूरपश्चिममा पनि प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तार गर्न सकिन्छ ।
अनुसन्धान, नवप्रवर्तन र दिगोपन
स्थानीय स्वास्थ्य समस्यामा आधारित अनुसन्धानले नीति निर्माणमा प्रत्यक्ष योगदान पुर्याउँछ । विश्वविद्यालयलाई शिक्षण केन्द्र मात्र नभई अनुसन्धान, नवप्रवर्तन र ज्ञान उत्पादनको केन्द्रका रूपमा विकास गर्न आवश्यक छ ।
यसले रोजगारी सिर्जना, पूर्वाधार विकास, स्थानीय अर्थतन्त्र सुदृढीकरण र सामाजिक चेतना विस्तारमा दीर्घकालीन प्रभाव पार्नेछ ।
गुणस्तर, मान्यता र अन्तर्राष्ट्रिय सहकार्य
विश्वविद्यालय स्थापना गर्दा गुणस्तर, मान्यता र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिइएको थियो । WFME र WHO का मापदण्डअनुसार निरन्तर मूल्यांकन र सहकार्यले विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सहयोग गर्नेछ ।
निष्कर्ष : ‘झिक्कै झिक्कै’ बाट रूपान्तरणतर्फ
सुदूरपश्चिमबारे प्रचलित ‘झिक्कै झिक्कै’ भन्ने अभिव्यक्ति विगतमा दूरी र अभावको प्रतीक थियो । तर अहिले सडक, शिक्षा, स्वास्थ्य संस्था र डिजिटल सेवाको विस्तारले त्यो दूरी घट्दै गएको छ ।
जब शिक्षा समुदायसम्म पुग्छ, स्वास्थ्य सेवा गाउँ–गाउँमा विस्तार हुन्छ र डिजिटल प्रविधिले दूरी मेटाउँछ, तब सुदूरपश्चिम नाम मात्र नभई नेपालको स्वास्थ्य रूपान्तरणको वास्तविक उदाहरण बन्नेछ ।














