केशवराज भट्ट, बैतडी । नेपाल–भारत सीमा क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनमा सहकार्य गर्ने विषयमा भारतको पिथौरागढमा सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ।
बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा बैतडी र दार्चुलाका अधिकारी तथा भारतको पिथौरागढ जिल्लाका अधिकारीको सहभागिता रहेको थियो।
बैठकमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखनलगायत सीमा अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच नियमित सूचना आदान–प्रदान गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो।
यस्तै, सीमा आवागमन सहज बनाउने, व्यापार सहजीकरण गर्ने, पूर्वाधार निर्माण तथा मर्मतमा समन्वय गर्ने र विपद्का समयमा सूचना आदान–प्रदानका लागि साझा संयन्त्र निर्माण गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो।
बैठकमा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकबीचको परम्परागत सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमा समन्वय बैठकलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो।



