बझाङ र सुर्खेत — कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी पाइने यार्चा टिप्ने सिजन सुरु भइसकेको छ । जीवन बुटीका रूपमा चिनिने यही यार्चा टिप्न जाँदा भने धेरैले ज्यान गुमाउनुपर्ने तितो यथार्थ पनि उत्तिकै दर्दनाक छ । कान्तिपुरले स्थानीय पालिका, प्रहरी र यार्चा टिप्न जानेहरूबाट संकलन गरेको विवरणअनुसार जेठमा मात्रै सुदूरपश्चिम र कर्णाली प्रदेशका १४ जनाले ज्यान गुमाइसकेका छन् ।
बझाङको सुर्मा गाउँपालिका–५ सैनगाउँका ३१ वर्षीय दीपेन्द्र बोहरा २३ वर्षीया श्रीमती रविनासहित यार्चा टिप्न जेठ १६ मा घरबाट निस्केका थिए । डेढ महिनाजति धौलढुंगा लेकमा बस्ने र यार्चा टिप्ने उनीहरूको योजना थियो । धौलढुंगा पुगेको भोलिपल्टै बिहानै यार्चा खोज्न हिँडेका दीपेन्द्रको हिउँमा चिप्लिएर घटनास्थलमै ज्यान गयो । यार्चाको कमाइबाट घर बनाउँदा लागेको ऋण तिर्ने दम्पतीको योजना श्रीमान्को निधनले चकनाचुर भयो, रविनाको जिन्दगीमै निस्पट्ट अँध्यारो छायो । बझाङ सुर्माको यो दुःखद घटनाको भोलिपल्ट दार्चुलाको अपी हिमाल गाउँपालिका–३ काँटैको दोनथे पाटनमा सोही गाउँपालिकाको राताभिटाका २४ वर्षीय मिलन कार्कीको मृत्यु भयो । दिनभर यार्चा खोजेर साँझ बास बस्न फर्कंदै गरेका मिलन भीरबाट लडेका थिए ।
यी दुई घटनाको केही दिनअघि मात्रै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ गोतामकोट, विष्टगाउँकी २२ वर्षीया जमुना विष्टले पनि ज्यान गुमाएकी थिइन् । जेठ दोस्रो साता यार्चा संकलनका लागि डोल्पा हिँडेकी जमुनाको यार्चा टिप्न पाटन नपुग्दै काइके गाउँपालिकाको लैनीडाँडामा लेक लागेर ज्यान गयो । ‘गाउँबाट २ दिन हिँडेर त्यहाँ पुगेका थियौं, दिदीलाई लेक लागेपछि घरतर्फ फर्काउने बेला ज्यान गयो,’ दिदीसँगै यार्चा टिप्न हिँडेकी सरस्वतीले भनिन्, ‘यार्चा टिपेर घर खर्च चलाउँला भनेर गएका थियौं । न यार्चा टिप्न पाइयो न दिदीको ज्यान बच्यो ।’
यार्सा टिप्न पाटन पुगेकाहरूको मृत्युको शृंखला यत्तिमै सकिंँदैन । यार्चा टिप्न मुगुको मुगमकार्मारोङ गाउँपालिकाको पाटन पुगेका ४ जनाको पछिल्लो साता लेक लागेर ज्यान गयो । जसमा छायानाथ रारा नगरपालिका–१२ शोभागाउँका २९ वर्षीय मुनबहादुर बुढा, कम्फागाउँका २१ वर्षीय सोबान बुढा र २४ वर्षीय राजबहादुर सावत थिए । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मुगुकै पाटनमा पुगेका जुम्लाको पातारासी गाउँपालिका–३ का २६ वर्षीय सुर्ज रावतको पनि लेक लागेर ज्यान गुमेको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार लेक लागेर सिकिस्त परेका दुई जनालाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

यस वर्ष डोल्पाका कागमारा, फूलबारी, धो, ताक्सी, सिसोल, नावरपानी, मुगुको कोइकी, रिमार, टाँकेलगायत पाटनमा झन्डै १५ हजार यार्चा संकलक पुगेको कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठका अनुसार कतिपय संकलक अझै बाटोमा रहेकाले यकिन तथ्यांक अझै आएको छैन । गत वर्ष मुगु र डोल्पाका पाटनमा झन्डै ३३ हजार संकलक गएका थिए । ‘सिजन भर्खरै सुरु भएकाले कतिपय संकलक बाटोमै छन्,’ उनले भने, ‘स्थानीय तहमार्फत तथ्यांक संकलनको काम भइरहेको छ ।’ जेठ दोस्रो साताबाट यार्चा संकलनका लागि कर्णालीका पाटनहरू खुला गरिएका हुन् । विद्यार्थी पढाइ खर्च जुटाउन पाटन उक्लिएपछि मुगु, डोल्पा, जुम्ला, रुकुम पश्चिम, जाजरकोटलगायतका जिल्लाका ग्रामीण भेगका अधिकांश विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
समाजशास्त्री गणेश ओलीले एकातिर यार्चा टिप्न जानेहरूको मृत्यु र अर्कोतिर जोखिम मोलेर खोजेको यार्चाको कमाइ बीचमै लुटिने समस्या दुवै चिन्ताको विषय भएको बताउँछन् । भन्छन्, ‘विभिन्न वन समिति, आरक्ष, विभिन्न युवा क्लबलगायतले प्रवेश शुल्कको निहुँमा असुल्ने मोटो रकमले यार्चा संकलकलाई पीर थपिदिएको छ ।’ पाटनमा आउजाउ र बन्दोबस्तीका सामानको व्यवस्था गर्दा प्रतिव्यक्ति ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको बताउँदै उनले भने, ‘त्यत्रो रकम खर्च गर्दा कम्तीमा न्यूनतम १ लाख कमाउनुपर्छ । तर बर्सेनि यार्चाको उत्पादन घट्दो छ ।’
वनस्पतिविज्ञ किरण शर्माले बर्सेनि हिमपात, हावाहुरी, अधिक वर्षालगायत कारण यार्चा उत्पादनमा कमी आइरहेको बताए । उनका अनुसार गत वर्ष प्रतिगोटा १ हजार रुपैयाँसम्ममा यार्चा बिक्री भएको थियो । व्यापारीले गत वर्ष २७ लाख रुपैयाँसम्ममा यार्चा बिक्री गरेका थिए । ‘मानवीय उपस्थिति बढ्दै जाँदा पाटनहरूमा यार्चाको उत्पादन घटिरहेको छ,’ उनले भने, ‘मूल्य पनि घट्दै जाँदा संकलकहरूको जीविकोपार्जनमा समस्या भइरहेको छ ।’ अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठका अनुसार विश्वभर बर्सेनि ५ देखि ११ अर्ब डलर बराबरको यार्चा व्यापार हुन्छ । चीनमा प्रतिकिलो ७० लाख रुपैयाँसम्म पर्छ ।

मुगुको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले मुगमकार्मारोङका पाटनहरूमा अहिलेसम्म झन्डै ४ हजार संकलक पुगेको र ६९ लाख ५२ हजार रुपैयाँ राजस्व उठेको बताए । उनका अनुसार जिल्लाभित्रका संकलकबाट २ हजार र बाहिरकाबाट २ हजार ५ सय प्रवेश शुल्क लिइन्छ । पाटनमा झन्डै १ सय यार्चा संकलक बिरामीको खबर आएपछि उपचारका लागि चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाइएको बताए । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावतले यार्सा संकलनलाई व्यवस्थित, कम जोखिमयुक्त र उपयुक्त बजारीकरणसहितको बनाउन कार्ययोजना निर्माणको काम भइरहेको बताए ।
नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार आर्थिक वर्ष ०७०/७१ मा नेपालका ११ जिल्लामा ४ अर्ब ९२ करोडको यार्चा संकलन भएको थियो । यार्चाको बिक्रीवितरण र कारोबारको रकमको रेकर्ड विभिन्न निकायमा भेटिने गरेको भए पनि यार्चा संकलनका क्रममा ज्यान गुमाएकाहरूको हिसाब भने कसैले राखेका छैनन् ।














