back to top
Home मुख्य समाचार पचास वर्षदेखि गाउँको आस्था र पहिचान बनेको तडीगाउँको पिपल

पचास वर्षदेखि गाउँको आस्था र पहिचान बनेको तडीगाउँको पिपल

0
111

केशवराज भट्ट,बैतडी, फागुन २८ गते ।

सुर्नया गाउँपालिका–३ तडीगाउँको डाँडामाथि उभिएको पिपलको रुख केवल एउटा हरियो रूख मात्र होइन,यो गाउँको आस्था, सामाजिक सम्बन्ध र प्रकृतिसँगको नाताको प्रतीक पनि हो ।

करिब ५० वर्षअघि स्थानीय बासिन्दा केशव दत्त भट्टले रोपेको यो पिपल अहिले तडीगाउँको पहिचानजस्तै बनेको छ। समयसँगै फैलिएको यसको छहारीले गाउँलेहरूलाई शीतलता मात्र दिएको छैन, उनीहरूको धार्मिक र सामाजिक गतिविधिको केन्द्रसमेत बनेको स्थानीय देव दत्त भट्टले बताउनुभयो ।

बाटोको किनारमा फैलिएको यस रुखको फेदमा स्थानियहरुले धार्मिक गतिविधि गर्ने गरेका भट्टले बताउनुभयो । रुखको फेद नजिकै स्थानीयले बनाएको छाप्रोमा खेतबारीतर्फ जाने–आउने स्थानीयहरू यहाँ केहीबेर विश्राम गर्ने गर्छन्। बुढापाकाका अनुसार कुनै समय गाउँका विभिन्न विषयमा छलफल गर्ने थलोका रूपमा पनि यही छहारी प्रयोग हुने गरेको बताइन्छ।

धार्मिक दृष्टिले पनि यो पिपल निकै महत्वपूर्ण मानिन्छ। स्थानीयका अनुसार तडीगाउँसहित वरपरका करिब चारदेखि पाँच गाउँका बासिन्दाले विभिन्न धार्मिक कार्यका लागि यही स्थान प्रयोग गर्ने गरेका छन्। विशेष दिनहरुमा जस्तै शनिबारे व्रत, एकादशी पूजा, मान्छेको मृत्युुको ११ दिनमा गरिने क्रमकाण्ड जस्ता गतिविधि, पूजा गर्ने , दियो बाल्ने र परिक्रमा गर्ने लगायतका चलन पनि यहाँ कायम रहेका छन्।

प्राकृतिक हिसाबले पनि पिपल वातावरणका लागि उपयोगी मानिन्छ। यसको बाक्लो छहारीले गर्मीमा शीतलता दिनुका साथै चराचुरुङ्गीलाई सुरक्षित बासस्थान प्रदान गर्छ। वातावरणविद्हरूका अनुसार पिपलले वातावरण शुद्ध बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।

समय परिवर्तनसँगै गाउँका धेरै पुराना चिन्हहरू हराउँदै गएका छन्। तर तडीगाउँको डाँडामा उभिएको यो पिपल भने अझै मजबुत रूपमा उभिएको भए पनि यसको संरक्षण नहुदा र पिपलको बोट नजिकैबाट सडकजादा यो रुख ढल्नसक्ने खतरा बढेको स्थानिय केशवदत्त भट्टले बताउनुभयो । करिब आधा शताब्दीदेखि यो रुखले गाउँको आस्था, संस्कृति र प्रकृतिप्रतिको सम्मानलाई निरन्तर जोगाइरहेको स्थानीयहरुले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here